७ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले ७ केजी गाँजा सहित एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ । हिजो साँझ ६ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटबाट एकजनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी ईनर्वाले भारत विहार जिल्ला गोपालगञ्ज थाना महमदपुर ग्राम अमरपुरा बस्ने वर्ष ६५ को गोगल महतो नुनियालाई ७ केजी गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।
इनर्वामा खटिएको नियमित चेकिङ टोलीले बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा वीरञ्जबाट भारतको रक्सौलतर्फ शंकास्पद रूप झोला बोकेर पैदल जाँदै गरेको अवस्थामा खानतलासी गर्दा नुनियाले वाँया काँधमा कालो रंगको प्लाष्टिकको जेब्रा झोलाभित्र प्लाष्टिकले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ७ के.जी.फेला परेको प्रहरी नायव उपरीक्षक लम्सालले बताए ।
लागु औषध सहित नियन्त्रणमा लिइएका नुनियालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।