२४ पुष, ठोरी । पर्साको ठोरीमा फेरि जङ्गली हात्तीले वितण्डा मच्चाएको छ । बुधबार बिहानीपख चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जङ्गली हात्तीले ठोरी गापा –२, गौतमनगरमा आतङ्क मच्चाएको हो ।
स्थानीय सन्चारकर्मी चिरञ्जीवी सापकोटाका अनुसार जंगली हात्तीले गौतमनगरका चेतबहादुर बस्नेतको घरको बार भत्काएर भकारीमा राखेको १२ मुरी भन्दा बढी धान खाई दिएकोे छ । यस्तै सोही ठाउँका काजी प्याकुरेलको घरमा समेत हात्तीले क्षति पुर्याएको छ ।
गौतमनगरकी सीता गौतमको घरको बार पनि हात्तीले भत्काई दिएको छ । जंगलबाट गाउँ प्रवेश हात्तीलाई स्थानीयबासीले होहल्ला गरेर जङ्गलतर्फ फर्काएको सन्चारकर्मी सापकोटाले बताउनुभयो ।
जङगली जनावरबाट सधैंजसो पीडित बन्ने गरेको ठोरीवासी हात्तीले वितण्डा मच्चाएपछि पुनः त्रसित बनेका छन् ।