Logo

९ माघ,जनकपुरधाम । आफ्नो सांसद सहिदा खातुन र उनको परिवारमाथि कुटपिट गर्नेहरुमाथि कारबाही नभएको भन्दै जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध पारेको छ ।

सभामुख रामचन्द्र मण्डलले बैठकका कारबाही अगाडि बढाउन नपाउँदै जसपा नेपालका सांसदहरुले उभिएर विरोध गरेका थिए । सांसद किरण कुमारीले प्रदेशसभा सदस्य सहिदा खातुनमाथि कुटपिट भएको एक महिना एक दिन बितिसक्दा पनि घटनामा संलग्नहरुमाथि कारबाही नभएको भन्दै सदनको कामकारबाही अगाडि नबढाउन सभामुखसँग आग्रह गरिन् ।

उनले भनिन्, ‘पुस ८ मा घरमै सुनियोजित तरिकाले केही आपराधिक व्यक्तिहरुबाट सांसद सहिदा खातुन, उनका श्रीमान र छोरासमेतलाई ज्यान लिनेगरी कुटपिट गरिएको थियो । प्रदेश सरकारको उपस्थिति अहिलेसम्म देखिएन । अहिलेसम्म न सरकार न त प्रदेशसभाले न्यायका लागि पहल गरेको छ । माननीय सहिदाले न्याय पाउनुपर्छ कि पर्दैन ?’

उनले माननीयमाथि आक्रमण भएको घटनामा डीआईजीसमेत संवेदनशील नभएको आरोप लगाइन् । ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको घटनामा सिरहा प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेकोमा उनले आपत्ति जनाइन् ।

जसपा नेपालका सांसदहरुले उभिएर सदन अवरुद्ध गरेपछि सभामुख मण्डलले यसबारे गृहमन्त्रीले जवाफ दिने र सिरहा प्रहरीसँग समन्वय गरी कारबाहीका लागि पहल गर्ने आश्वासन दिएका थिए ।

गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले घटनामा माननीय सहिदा खातुन कुटिएको घटना रकम लेनदेनको विवाद रहेको बताए ।

उनले भने, ‘घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई दुई सातासम्म थुनामा राखेर सिरहा प्रहरीले अनुसन्धान गरेको जानकारी पाएको छु । पछि माननीयजी स्वयं घटनामा संलग्न रहेका भिडिओहरु भाइरल भयो । त्यसपछि स्थिति बिग्रिन सक्छ भनेर प्रहरीले दुबै पक्षलाई राखेर सहमतिको प्रयास गरेको जानकारी पाएको छु ।’

अहिले फेरि एक महिनापछि विवादको कुरा बाहिर आएको भन्दै गृहमन्त्री लेखीले यसमा अनुसन्धान गर्नुपरे त्यहाँको एसपीसँग सम्पर्क भएको र घटनाको छानबिन गरी कारबाही अगाडि बढाउन तयार रहेको बताए ।


सम्बन्धित समाचार