१० माघ,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकामा नगर स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
टेवा धापाखेल ललितपुरको समन्वय एवम ग्रामीण उत्थान अभियान कलैयाको आयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वक्ताहरुको प्रश्नको जवाफ दिँदै नगरप्रमुख बिनोद साहले यहाँको प्रमुख समस्या मानमत–मटिअर्वा सडकको कार्य भएको उल्लेख गरे । उनले त्यो सडकको काम अधुरो रहँदा शहर नै कुरुप देखिएको दुखेसो पोखे ।
तथापी बाटोको काम यथासिघ्र सम्पन्न पार्न हर तरिकाले अघि बढ्ने उनको प्रतिबद्घता छ ।
नगरबासीका लागि अनुकुल र आवश्यकता अनुसारको तालिम आयोजना गर्दै आएको बताँउदै उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि बिशेष योजना ल्याएको समेत खुलाए ।
चर्को आवाजमा डिजे तथा अश्लिल गीत बजाउन बन्देज लगाउन पालिकागत निर्णय गरेको भएपनि कार्यान्वयनमा नल्याइनु दुखद भएको बताए । फेरी पनि कार्यपालिकाको बैठकबाट यसलाई अनुमोदन गराई कलैयामा पुर्ण रुपले त्यस्ता गतिविधि बन्द गराउन कडा नियम बनाउन सहयोग गर्ने प्रतिबद्धता उनको छ ।
उनले कलैया अस्पताल भित्रको बेथिती यथाशिघ्र अन्त्य गराउन मेडिकल सुपरिटेन्डेन्डको कार्यक्रमबाटै ध्यानाकर्षण गराए । यस्तै किसानका लागि आवश्यक मल खाद बीउ बिजन बितरणको काम भइरहेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक तथा महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख बलराम श्रेष्ठले सेवाग्राहीलाई सेवा प्रवाहमा दुख नदिएको बताए ।
प्रहरी मेरो साथी भन्ने नारालाई अङगालेर सर्वसाधारणलाई चुस्त सेवा दिँदै आएको जनाए । उनका अनुसार जिल्लामा अमनचयन काम गर्नका लागि प्रहरी अहोरात्र लागिपरेको छ ।
ग्रामीण उत्थान अभियानका अध्यक्ष माधुरी कुमारी गिरीको अध्यक्षता एवम् कलैयाका नगरप्रमुख साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी, प्रादेशिक अस्पताल कलैयाका मेसु डा.अजय गुप्ता, टेवाका महिलाबादी आन्दोलनकि अगुवा तथा कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठ, कलैया उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख तपसि चौरसिया, महिला शाखा प्रमुख नेहा केशरी, समाजसेवी तथा ग्रामीण उत्थान अभियान संस्थाको संरक्षक एवम् सन्स्थापक मुकद्दम अन्सारी, टेवाको अनुगमन अधिकृत खुश्बु कायस्थ, वडा नम्बर १ को सदस्य शशी दास,ओसिएमसी कि अनिता जयसवाल लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण साजिर मन्सूरले गरेका थिए ।