१० माघ,वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्यालले समाजमा व्याप्त बाल विवाह, दाईजो प्रथा र खर्चिलो विवाह न्यूनीकरण आफ्नै घरबाट सुरुवात गरे मात्रै सम्भव रहेको बताएका छन् । हाम्रो अभियान पर्साले सरोकारवालाहरुसँग राखेको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले यस्तो बताएका हुन् ।
उनले समाजमा जकडिएर रहेको बालविवाह, दाईजो प्रथा र खर्चिलो विवाहका लागि जति ठूला राजनीतिक भाषण गरेपनि त्यसको भित्री पाटो निकै डरलाग्दो रहेको अवस्था समाजमा रहेको बताउदै यसको न्यूनीकरणका लागि आफैले घरबाट शुरुवात नगरेसम्म सम्भव नभएको बताए ।
नेपालको सामाजिक संरचना पितृसतात्मक सोचबाट बाहिर आउन नसकेको बताउदै उहाँले समाजले नै त्यस्ता कुप्रथा र कुरितीमा संलग्नहरुलाई बहिष्कार गर्नुपर्ने जोड दिए । सामाजिक कुप्रथाहरुलाई हटाउने अभियान चलाउने सामाजिक संघ संस्थाहरुमा संलग्नहरुको घर परिवारमा झन् ठूलो समस्या पाईएको बताउदै प्रमुख जिल्ला अधिकारी अर्यालले त्यस्ता व्यक्तिहरुलाई सामूहिक दबाव र सामाजिक बहिष्कार नगरेसम्म दाईजो प्रथा, बालविवाहको अन्त्य हुन नसक्ने बताए ।
पछिल्लो समयमा खर्चिलो विवाह पनि समस्याको रुपमा देखा परेको भन्दै प्रमुख जिल्ला अधिकारी अर्यालले सामूहिक प्रयास र सामाजिक बहिष्कार विना सम्भव नरहेको बताए ।
हाम्रो अभियान नेपाल पर्साका कार्यकारी निर्देशक शिवनाथ यादवको अध्यक्षतामा भएको सरोकारवालाहरुसँगको छलफलमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का वडा अध्यक्ष मनोज यादव, बाराको परवानीपुगर गाउँपालिका वडा नम्बर ३ का वड अध्यक्ष इब्राहिम मियाँ धोवी, वडा नम्बर ४ का वडा अध्यक्ष गम्भीर राउत कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले राखेको धारणालाई एकतृत गरेर बालविवाह, दाईजो प्रथा र खर्चिलो विवाह न्यूनीकरणका लागि आवश्कय सुझाव सहितको प्रतिबेदन पर्साका प्रमुख जिल्ला अधिकारीलाई बुझाईने संस्थाकी संयोजक सलमा खातुनले जानकारी दिए ।