१९ माघ, चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र चितवनले शनिबार आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई मायाँ गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए ।
आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको उल्लेख गर्दै उहाँले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए ।
सरकारमा रहेर थालिएको सुधारको नयाँ थालनी, सरकारबाट निस्केपछि देशब्यापीरुपमा लिइएको पहलकदमी तथा सदन र सडकमा विपक्षी मोर्चाको तर्फबाट देश र जनताको पक्षमा लिइएको पहलकदमीले जनतामा नयाँ आशाको जागृत हुँदै गरेको उहाँले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरुको पार्टी प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउने मात्र होइन, मुलुकै अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।
राजनीति, समाजसेवा, शैक्षिक क्षेत्र, खेलकुद लगायत विभिन्न क्षेत्रमा दशौं योगदान गरेका व्यक्तिहरुको पार्टी प्रवेशले चितवनको राजनीति र बामपंथी आन्दोलनमा गुणात्मक परिवर्तन ल्याउने उहाँले बताउनुभयो । यसको प्रभाव र परिणाम देशैभरि पर्ने पनि उनले स्पष्ट पारे ।
उनले आफूहरु एकीकृत समाजवादीसँग समाजवादी मोर्चा र बिपक्षी मोर्चामा रहेर सहकार्य गरिरहेको उल्लेख गर्दै यो प्रवेश र ध्रुवीकरणले कुनै असर नपार्ने बताउदै बरु यसले माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाउने विश्वाव पनि उनले व्यक्त गरे ।
एकीकृत समाजवादीका नेतासहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा
सोही क्रममा अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरेका छन् ।
दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका पुराना बामपंथी नेता न्यौपाने एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य रहेका थिए । त्यस्तै एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमति प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी,
जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
















