२१ माघ,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई कानुन विपरीतको कार्य नगर्न चेतावनी दिएको छ ।
कतिपय संस्थाहरूले कानुन विपरीत गएर अनुमति दिएको स्थानभन्दा बाहिर गएर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी आएको भन्दै मन्त्रालयले त्यस्तो नगर्न चेतावनी दिएको हो ।
मन्त्रालयबाट अनुमति पाएका संस्थाहरूले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ बमोजिम सेवा सञ्चालन गर्न सचेत गराएको हो । शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाले एक सूचना जारी गर्दै निर्देशिका विपरीत सञ्चालन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।