Logo

२८ माघ,काठमाडौ। पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा आन्दोलनरत पक्षले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारसँग यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन पनि सरकार इमान्दार नभएको उनीहरुले बताएका छन् । वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको । निर्णायक वार्ता समिति पनि बनाउन इच्छुक नदेखिएका उनीहरूले आरोप लगाएका छन् ।

२२ गते भएको वार्ताअनुसार माघ २७ गते दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो । तर सहमति बमोजिम आफूहरु मन्त्री वा उच्चस्तरीय टोलीसँगमात्रै वार्ता गर्ने भन्दै उनीहरुले हिँडेपछि छलफल भाँडिएको थियो ।

उनीहरुले साँझसम्मको समय दिएर मन्त्री वा उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गर्न अल्टिमेटम दिएका थिए । सरकारले उक्त माग बमोजिम वार्ता टोली गठन नगरेपछि थप संघर्षका कार्यक्रम ल्याउनुपरेको उनीहरुको दाबी छ ।
पाथीभरामा केबलकार निर्माण सुरु भएपछि विरोधमा उत्रने क्रममा गत माघ १२ गते प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएका थिए ।


सम्बन्धित समाचार