Logo

२९ माघ,वीरगञ्ज । बारामा प्रहरीले भारी मात्रामा लागूऔषध र दुईजना व्यक्तिलाई पनि पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराले मंगलबार बिहान दुईजना अफिम कारोबारीलाई १३ केजी अफिम सहित पक्राउ गरेको छ । स्कुटरमा अफिम लिएर वीरगञ्जतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब नीरिक्षक दिपक बस्नेतको कमाण्डमा रहेको मोबाइल टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका ८ का भिमबहादुर मोक्तान र मनहरी गाउँपालिका ६ का सुर्यबहादुर मोक्तान रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ लाख ३३ हजार नगद समेत बरामद गरेको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामाले जानकारी दिनुभयो ।

मधेश प्रदेश ०३–००१प–१६१४ नम्बरको स्कुटरमा वीरगन्जतर्फ आउँदै गरेका उनीहरुका विषयमा प्रहरीले पहिल्यै सूचना पाएपछि ईलाका प्रहरी कार्यालय सिमरा सहित जीतपुर र पथलैयाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न घेरा हालिसकेको थियो ।

प्रहरीलाई देखेपछि स्कुटर छाडेर भागीसकेका उनीहरुलाई सिमराको मोबाइल गस्ती टोलीका प्रहरी नायब नीरिक्षक दिपक बस्नेतको टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । बरामद भएको अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य दुई करोड भन्दा बढि रहेको छ ।

भारत तर्फ लैजान लागिएको अफिम सहित पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय सिमराले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जले ५५ किलो ९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकमा चेकजाँच गर्ने क्रममा २ वटा पोकामा रहेको २८ केजी गाँजा बरामद गरेको हो ।

हेटौडाबाट वीरगंज तर्फ आउदै गरेको नम्बर नखुलेको मोटरसाईकल प्रहरी टोलीलाई देखेर झोला फाली फरार भएकोपछि झोला खोली हेर्दा २८ किलो प्रतिबन्धित गाँजा फेला परेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । त्यसै गरि आज बिहान पनि २७ किलो ९० ग्राम प्रतिबन्धित गाँजा सहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

हेटौडाबाट वीरगंज तर्फ जादै गरेको बा.प्र.०२–०४४ प ६७५५ नम्बरको २२० सीसीको पल्सर मोटरसाईकलमा सवार भएर आएका २ जना व्यक्तिलाई अमलेखगञ्ज चोकमा रोक्न खोज्दा प्रहरी टोलीलाई देखेर झोला र मोटरसाईकल समेत फालेर फरार भएका थिए । उनीहरुले फालेको झोला खोलेर हेर्दा २७ किलो ९० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा र मोटरसाईकल सँगै एउटा आईफोन मोबाईल समेत बरामद भएको छ ।


सम्बन्धित समाचार