![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/Bahudar-mai-ghatna.jpg?fit=1200%2C668&ssl=1)
३० माघ,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयहरु आजदेखि सञ्चालनमा आएको छ । नगरपालिका अन्तर्गतको विद्यालयका शिक्षक, कर्मचारीहरुले आ.व. २०८१/०८२ को श्रावण महिनादेखि हाल सम्म तलव–भत्ता र विद्यालय सञ्चालन खर्च नपाएका भन्दै माघ ६ गते देखि विद्यालय बन्द गरी विद्यालयका साँचो प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाएका थिए ।
विद्यार्थीहरुको माध्यामिक शिक्षक परीक्षा (एस.इ.इ) लाई मध्यनजर आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नेपाल शिक्षक महासंघले जनाएको छ । शिक्षक महासंघकै नेतृत्वमा शिक्षकहरुले नगरपालिकाको सम्पूर्ण सामुदायिक विद्यालयको चावी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाएका थिए ।
चावी फिर्ता दिदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रशासन कार्यालयको तर्फबाट गर्नुपर्ने प्रयत्न धेरै गरेपनि समस्या समाधान हुन नसकेपनि शिक्षक कर्मचारीहरुले नागरिक, समाज र देशको लागि खटिनुपर्ने भएकाले विद्यार्थीहरुको भविष्यलाई सम्झिएर शिक्षकहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा किर्तज्ञता व्यक्त गरे । उनले नेतृत्वले लिनुपर्ने पहलकदमी नलिएपनि शिक्षकहरुको नैतिकता र उच्च इमान्दारिताले समस्या समाधान भएको आफूले बुझेको बताए ।
बहुदरमाई नगरपालिकाको स्वास्थ्य शाखामा कर्मचारी आवश्यकताको भर्ना खुलेकोमा त्यसमा नगर प्रमुख सिंगासन सा तेलीले नियम र प्रकृया विपरित आफूले भनेका व्यक्तिहरुलाई नियुक्ति गर्न भनेपनि प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाले नमानेपछि विवाद शुरु भएको थियो । उनले असार १० गते नै बोलाउनुपर्ने नगरसभा पनि बोलाएका थिएनन् ।
ढिलो गरी कार्तिक १२ गते नगरसभा भएपनि प्रमुख प्रशासकीय अधिकृतको सरुवा नभएसम्म अख्तियारी नदिने बालहठ कसेर बहुदरमाई नगरपालिकालाई बन्धक बनाईएको थियो । त्यसबाट नगरपालिकाका कर्मचारी, विद्यालयका शिक्षकहरु तल सुविधा पाउनबाट बञ्चित भएका थिए ।
तरपनि शिक्षकहरुले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गर्ने निर्ण गरेका हुन् । उनीहरुले नगरपालिकाको ठप्प रहेको सम्पूर्ण काम सञ्चालनमा ल्याउन र विद्यालयसँग सरोकारित शिक्षक/शिक्षिका/वालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको तलव भत्ता र विद्यालय सञ्चालन खर्च यथाशीघ्र उपलव्ध गराउन समेत जनप्रतिनिधि र बहुदरमाई नगरपालिकासँग अनुरोध गरेको छ ।
तलव–भत्ता र विद्यालय सञ्चालन खर्च उपलब्ध नगराएमा पुनः कडा भन्दा कडा आन्दोलनको कार्यक्रम गरिने पनि जनाएका छन् ।
यो पनि पढ्नुहोस् :-
बहुदरमाई नगरपालिकाको विवाद समाधान गर्ने सहमति
लाचार जनप्रतिनिधि : निरीह बहुदरमाईवासी
बहुदरमाई नगरपालिकाको समस्या समाधान गर्न एमालेलाई गुहार्दै शिक्षक महासंघ
सात महिनादेखि तलब सुविधा नपाएपछि शिक्षकहरुले सामूहिक रुपमा बुझाए तालाचाँबी
बहुदरमाई नगरपालिकाका शिक्षकहरुद्वारा सामूहिक तालाचाबी बुझाउने तयारी
बहुदरमाई नगरपालिकामा तोडफोड र आगजनीमा संलग्न दुईजना पक्राउ
बहुदरमाई नगरपालिकामा भएको घटनाको दोषी मेयर तेली नै रहेको नेता पटेलको आरोप (भिडियो सहित)
आन्दोलित विद्यार्थीले बहुदरमाई नगरपालिका भित्रका कागजातमा आगो लगाए