Logo

५ फागुन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको केआईआईटी विश्वविद्यालयमा भएको घटनामा सरकारले कूटनीतिक पहल थालेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उनले विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका हुन् ।

’भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

भारत उडिसाको केआईआईटी विश्वविद्यालयमा बी टेक तेस्रो वर्षमा अध्ययनरत छात्रा प्रकृति लम्साल आइतबार साँझ छात्रावास परिसरमा मृत भेटिएकी थिइन् । उनको मृत्युपछि क्याम्पसमा तनाव उत्पन्न भएको छ ।
उनको मृत्युको कारण अझै पुष्टि भइसकेको छैन। यद्यपि, प्रारम्भिक अनुसन्धानअनुसार उनले आत्महत्या गरेकी हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकृतिको मृत्युपछि क्याम्पसमा रहेका नेपाली विद्यार्थीहरूले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले सडक अवरुद्ध गर्दै मृतकका पूर्वप्रेमीलाई पक्राउ गर्न माग गरेका थिए । उनकै कारण प्रकृतिले आत्महत्या गरेको उनीहरूको आरोप छ ।

तनाव बढ्दै गएपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिएको छ ।


सम्बन्धित समाचार