Logo

५ फागुन,वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाको विवाद सुल्झिएसंगै नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकिम) ले कार्यभार सम्हालेका छन् ।

सरुवा भएको केही सातामै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामविनय कुमार सिंहले सोमबारदेखि कार्यभार सम्हालेका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफाको सरुवा गरेपछि उनको ठाउँमा सिंहको सरुवा भएको हो ।

नगरापालिकामा मेयर सिंगासन साह तेली, उपमेयर शुष्मा कुशवाहा तथा वडाअध्यक्षहरु एवम कार्यपालिका सदस्यहरुले टिका माला लगाएर प्रमुख प्रशासकीय अधिकृत सिंहलाई स्वागत गरेका थिए ।

बहुदरमाइ नगरपालिकामा हाजिर भएका सिंह तत्कालीन जिल्ला शिक्षाको कार्यालय हुँदा आर्थिक अनियमिततामा कारबाही भोगेका थिए । हुँदै नभएको विद्यालयको नाममा रकम हिनामिना गरेको आरोपमा उनी निलम्बनमा परेका थिए ।

तर यही विवादित हाकिमलाई संघीय मामिला मन्त्रालयले बहुदरमाइ नगरपालिकामा सरुवा गरेको छ । मेयर तेली र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तुफासंग तालमेल नहुँदा नगरपालिकाको कार्यालयमा विवाद मात्रै भएको थिएन, लामो समयदेखि कर्मचारीहरु तलब नपाउनुको साथै बजेट खर्चमा समेत अख्तियारी प्रदान भएको थिएन ।

मेयर तेलीले हाकिम मुस्तुफाको सरुवा नहुञजेलसम्म कुनै काम नगर्ने हट कसेपछि संघीय मामिला मन्त्रालयले विवाद सुल्झाउनका लागि तत्कालीन हाकिम मुस्तुफाको ठाउँमा विवादित अधिकृत सिंहको सरुवा गरेको हो ।

 


सम्बन्धित समाचार