Logo

११ फागुन,वीरगञ्ज । वीरगंजका होटल र मसाज केन्द्रहरुलाई ब्यबस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यावसायी संघ पर्साले संयुक्त रुपमा पहल शुरु गरेका छन् ।

आज स्थानीय क्लासिक वंक्वेटमा वीरगन्जका होटल तथा रेस्टुरेण्ट र मसाज केन्द्रका सञ्चालकहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यावसायी संघ पर्साले ‘मर्यादित होटल ब्यावसाय सन्चालनमा ब्यबसायी र प्रहरीको भूमिका’ को विषयमा अन्तरक्रिया आयोजना गरिएको थियो ।

अन्तरकृयामा होटल तथा मसाज सेन्टरहरु मर्यादित रुपमा सञ्चालन गर्न सबैपक्षको सकारात्मक भूमिका आवश्यक रहने बताएका छन् ।

होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले कुनैपनि व्यावसाय सञ्चालन पैसा कमाउनका लागि मात्रै होईन त्यसको समाजिक मान्यता र मर्यादालाई पनि ख्याल गर्नुपर्ने भएकोले होटल व्यावसायीहरु त्यसतर्फ सचेत रहेको बताए ।

उनले मर्यादित पेशा व्यावसायका लागि प्रहरीको सहकार्यले समस्या समाधानमा कोशे ढुङ्गा साबित हुने बताए । उनले २१ औं शताब्दीको प्रहरीले अनावश्यक रूपमा होटलका कोठा कोठा चाहरेर नभई महत्वपूर्ण समय बर्बाद नगर्न समेत उहाँले सुझाव दिए ।

त्यसैगरि पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले कुनै पनि होटलमा होटल व्यावसायीहरुको प्रत्यक्ष संलग्नतामा गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगर्न आग्रह गर्दै त्यस्तो गतिविधि गरेमा कारवाही गर्ने चेतावनी दिए ।

उनले सबै नागरिकले राज्यको कानून जान्नुपनि पर्ने र मान्नु पनि पर्ने बताउदै कानून नजान्नेलाई पनि अपराध गर्न छुट नहुने बताए । आफू पर्सा आएपछि अवैध गतिविधिमा संलग्न वीरगन्जका ४ जना होटल व्यावसायीलाई मानव बेचबिखानको मुद्दा चलाएको समेत जानकारी दिए ।

७० जनाभन्दाबढी होटल ब्यबसायीहरुको उपस्थिति रहेको कार्यक्रमको खुला सत्रमा अधिकांश होटल व्यवसायीहरुले आ–आफ्नो समस्याहरु राख्ने क्रममा होटल व्यावसायीहरुमाथि कतै कतै अन्याय समेत भएको बताएका थिए ।
होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा रचेन्द्र सिंह थापाले स्वागत तथा दिलिप राज कार्कीले सहजीकरण गरेका गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार