
४ चैत,वीरगञ्ज । वैदेशिक रोजगारीबाट फर्किएका करमुल्लाह मंसुरले आफ्नो करोडौं मूल्य पर्ने सम्पत्ति ५ लाख ५० हजार रुपैयाँमा हडपिएको भन्दै जिल्ला प्रशासन कार्यालय बारामा न्यायको लागि निवेदन दिएका छन् । मंसुरले कलैया उपमहानगरपालिका वडा नं.– ३ स्थित आफ्नो जग्गा र दुईतले भवन हिरालाल प्रसादले झुक्याएर सस्तोमा लिएको आरोप लगाएका छन् ।
मंसुरका अनुसार, उनले वैदेशिक रोजगारीमा कमाएको पैसाले किनेको उक्त सम्पत्ति उनले सुपर ईट्टा उद्योग सञ्चालनका लागि ६० लाख रुपैयाँ ऋण लिँदा धितो राखेका थिए। तर, ऋणको साँवा ब्याज ८५ लाख रुपैयाँ तिरिसक्दा पनि जग्गा फिर्ता नपाएको उनले बताए।
“मैले विदेशमा रगत पसिना बगाएर कमाएको पैसाले किनेको सम्पत्ति हो यो। तर, मलाई झुक्याएर ५ लाख ५० हजार रुपैयाँमा राजिनामा पास गराइयो,“ मंसुरले भने, “यो करोडौंको सम्पत्ति हो, कसरी यति सस्तोमा बिक्री भयो ? यसको सत्यतथ्य छानबिन हुनुपर्छ।“
मंसुरले दोषीलाई कडा कारबाही गरी आफूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। “हामी सुकुम्बासी परिवार हौं, हाम्रो चित्कारको सुनुवाइ हुनुपर्छ,“ उनले भने।
जिल्ला प्रशासन कार्यालय बाराले यस विषयमा थप अनुसन्धान गरी पीडितलाई न्याय दिलाउने आश्वासन दिएको छ।