१८ वैशाख, वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले बारा जिल्लाको कलैया उप–महानगरपालिका वडा नं.१८ का २६ वर्षीय सुधिर प्रसाद साहलाई अपहरण गरी बन्धक बनाएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार राति करिब ९ः४५ बजे वीरगञ्ज महानगरपालिका वडा नं.–१२ मुर्लीस्थित एक घरबाट अपहरित साहलाई सकुशल उद्धार गरेको हो।
पक्राउ पर्नेहरूमा वीरगञ्ज मुर्लीका २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका वडा नं। ३ का २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन्। प्रहरीले घटनाको सूचना पाउनासाथ तत्काल कारबाही अगाडि बढाएको थियो।
पक्राउ परेका व्यक्तिहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास भट्टले जानकारी दिए।
प्रहरी नायव उपरीक्षक भट्टले घटनाबारे थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्ति भएमा उनीहरूलाई पनि कानुनी दायरामा ल्याइने बताए।

















