१ जेठ,चितवन । चितवनको भरतपुर महानगरपालिका– १२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ ।
महानगरपालिकाले गौरवको आयोजनाका रूपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ विगाहा क्षेत्रफलमा वन्यजन्तु उद्धारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो ।
आयोजनाको आज शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्धारमा टेवा पुग्नेगरी पार्क निर्माण गर्न लागिएको बताइन् । प्रमुख दाहालले पूर्व–पश्चिम राजमार्ग हुँदै आवत–जावत गर्नेहरूका लागि पनि पार्क उपयोगी हुने बताइन् । उनले भनिन्, ’तीनै तहका सरकारको सामूहिक लगानीमा नमूना पार्क बनाइने छ ।’
उपप्रमुख चित्रसेन अधिकारीले वन तथा वन्यजन्तु संरक्षणमा महानगरपालिका लागिपरेको जनाउँदै यसबाट नगरवासीले फाइदा लिन सक्नुपर्ने बताए । उनले भने, ’हामीले वन र वन्यजन्तु संरक्षण गर्दै यसबाट फाइदा लिन सक्नुपर्छ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी, रामवेल सामुदायिक वनका अध्यक्ष माधव धिताल, पूर्वअध्यक्ष बेलबहादुर थापालगायत सहभागी थिए ।
वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तले रु दुई करोड २३ लाख आठ हजार बजेटमा पार्क एवं खुल्ला चिडियाखाना बनाउन लागिएको बताए ।
सो क्षेत्रमा संग्राहालय, पाँच वटा पोखरी, वन्यजन्तु उद्घार केन्द्र, गोलघर, फुट ट्रेल लगायतका संरचना बन्ने उनले बताए ।

















