२, जेठ काठमाडौं । जीवन बीमा कम्पनीहरूको नाफा बढ्दै गएको छ ।१२ जीवन बीमा कम्पनीहरूले साउनदेखि चैत मसान्तसम्म ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । बजारमा सूचीकृत जीवन बीमा कम्पनीहरूको नाफा करिब ११ प्रतिशत बढेको हो ।
गत वर्षको यही अवधिमा यस्तो नाफा ४ अर्ब ९ करोड रुपैयाँ थियो । सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले ९ महिनामा ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा धेरै बढाउनेमा एसियन लाइफ इन्स्योरेन्स छ । समीक्षा अवधिमा सो कम्पनीको नाफा ५९ प्रतिशतले वृद्धि भएको छ ।
दुई जीवन बीमा कम्पनीको नाफा भने घटेको छ । राष्ट्रिय जीवन बीमाको ३७ र सन नेपाल लाइफ इन्स्योरेन्सको ३३ प्रतिशतले नाफा घटेको हो । कम्पनीहरुको नाफा बढे पनि प्रतिसेयर आम्दानी बढ्न सकेको छैन ।
१२ कम्पनीको औसत प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा छ । यसअघि यस्तो आम्दानी १० रुपैयाँ ३४ पैसा थियो । जीवन बीमा कम्पनीहरुले संकलित प्रिमियम रकमलाई उपयुक्त क्षेत्रमा लगानी गरेर नाफा आर्जन गर्ने गरेको छ ।
मुद्दती निक्षेपमा पनि यस्तो रकम लगानी हुने गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीका अनुसार ब्याजदर धेरै घट्दा संकलित रकम परिचालनमा भने चुनौती देखिएको छ भने लगानीको लागि उपयुक्त अवसर नहुँदा समस्या हुने गरेको छ ।

















