२ जेठ,काठमाडौं । नेकपा एमालेकी सांसद ज्वाला साहले कतारमा गम्भीर बिरामी रहेका एक नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेकी छन्।
आज संसदको शून्य समयमा बोल्दै सांसद साहले कतारको कमिला ट्रेडिङ एण्ड ट्रान्सपोर्ट कम्पनीमा कार्यरत बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ७ गमहरियाका समसुल मिया अंसारी विगत चार महिनादेखि अल कुवान अस्पतालको शैयामा मृत्युसँग लडिरहेको जानकारी दिइन्।
माननीय साहले नेपाल सरकारलाई कतार सरकारसँग समन्वय गरी बिरामी अंसारीलाई यथाशीघ्र नेपाल ल्याएर परिवारको जिम्मा लगाउन विशेष पहल गर्न अनुरोध गरेकी छन्। उनले एक नेपाली नागरिक विदेशमा यस्तो कठिन अवस्थामा रहँदा सरकारले देखाउनुपर्ने संवेदनशीलता र गर्नुपर्ने सहयोगमा जोड दिइन्।

















