५ जेठ,काठमाडौं । नेपालले आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले पराजित गर्दै ग्लोबल क्वालिफायरमा स्थान बनाएको छ।
सोमबार मध्याह्न सम्पन्न खेलमा यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान इन्दु बर्माले अविजित ३४ रनको महत्त्वपूर्ण योगदान गरिन्।
त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो। यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाउँदा तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन जोडेका थिए।
नेपालको बलिङतर्फ मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिइन्। कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट हात पारे।
लगातार दुई खेलमा हार बेहोरेपछि यूएई सुपर थ्रीबाट बाहिरिएको छ। यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो। अब नेपालले मंगलबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

















