६ जेठ,काठमाडौं । आईसीसी महिला टी–२० क्रिकेट विश्वकप एशिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । यो हारसँगै थाइल्यान्ड अपराजित रहँदै उपाधि जित्न सफल भएको छ भने नेपाल उपविजेता बनेको छ ।
टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५८ रनको योगफल खडा गरेको थियो । थाइल्यान्डका लागि नाट्या बोचाथम र नन्नापट कोन्चारोन्काईले अर्धशतकीय पारी खेले । नेपालका राजमती ऐरी र मनिषा उपाध्यायले १÷१ विकेट लिए ।
१५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो । नेपालकी कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् । थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ह्याट्रिकसहित ४ विकेट लिँदै नेपालको ब्याटिङ ध्वस्त पारिन् ।
यस खेलको नतिजा जे भए पनि नेपाल र थाइल्यान्ड दुवै टोलीले यसअघि नै एशियाको प्रतिनिधित्व गर्दै ग्लोबल विश्वकप छनोटमा स्थान सुरक्षित गरिसकेका छन् । विश्वकप छनोटमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमध्ये शीर्ष चारमा रहने टोलीहरू सन् २०२६ मा इङ्ग्ल्यान्डमा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

















