८ जेठ, काठमाडौं । बुद्ध एयरको ७२ सिटे एटिआर–७२ जहाजले बिहीबार काठमाडौँ–भरतपुर परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । बिहान ९ः३४ बजे काठमाडौँबाट उडेको जहाज भरतपुर विमानस्थलमा अवतरण भएको थियो ।
भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएकाले यसअघि बुद्ध एयरले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो । बुद्ध एयरसँग रहेका दुईमध्ये एउटा ४२ सिटे जहाज सेप्टेम्बरपछि सञ्चालन गर्न नमिल्ने भएकाले ठूलो जहाजको परीक्षण उडान गरिएको हो । यसले भविष्यमा उडानलाई नियमित बनाउन मद्दत पुग्नेछ ।
बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले साना जहाज मात्रै सञ्चालनमा रहेको अवस्थामा अब छिट्टै ठूलो जहाज पनि सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । अनुमति प्राप्त गरे लगत्तै नियमित उडान सुरु गरिने उनले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहा निर्देशक देवचन्द्र लाल कर्णले परीक्षण उडानसँगै अब एटिआर–७२ जहाजले यहाँ नियमित उडान गर्न सक्छ कि सक्दैन भनेर प्राविधिक विश्लेषण गरिने बताए । “आज जहाजले विमानस्थलको दुवैतर्फबाट ल्यान्ड र उडान ग¥यो ।
आँखाले हेर्दा त्यो सफल पनि देखियो,” कर्णले भने, “तर उडानको क्रममा दुई पाइलटका बीचमा भएका कुरा, इन्जिनले कस्तो काम ग¥यो, ब्रेकिङ एक्सन कतिको लियो लगायतका सबै कुराको फ्लाइट डाटा रेकर्डको विश्लेषण गरेपछि बल्ल नियमित उडानको बारेमा निर्णय लिन सकिन्छ ।
आजको परीक्षण उडान प्राविधिक रुपमा सफल भयो कि भएन त्यसपछि नै भन्न सकिन्छ ।” उनले यस प्रक्रियामा करिब एक महिना समय लाग्न सक्ने जानकारी दिए ।
यो जहाजको क्षमता ७२ जना यात्रु बोक्न सक्ने भए पनि भरतपुर–काठमाडौँ उडानको क्रममा कति यात्रु बोक्न सक्छ भन्ने कुरा त्यही समयको मौसमले निर्धारण गर्ने कर्णले बताए ।
उक्त जहाजका पाइलट क्याप्टेन प्रमोद थापाले काठमाडौँ–भरतपुर उडान सहज रुपमा भएको जानकारी दिए । भरतपुर विमानस्थलको धावनमार्ग १२ सय मिटर लामो छ र यसको विस्तार गर्ने प्रयास लामो समयदेखि भइरहे पनि प्रक्रिया सुस्त रहेको छ ।
बुद्ध एयरका भरतपुर स्टेसन म्यानेजर बस्नेतका अनुसार, बिहीबार परीक्षण उडान गरिएको जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्न सक्ने अनुमान गरिएको छ ।
यसअघि श्री एयरले पनि ८० सिट क्षमताको जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्दै आएको थियो, तर करिब १ महिनादेखि श्री एयरको उडान हुन सकेको छैन ।















