९ जेठ, जनकपुरधाम । जनमत पार्टीको तर्फबाट मन्त्रीमा नियुक्त भएका वसन्तकुमार कुशवाहा र सञ्जयकुमार यादवले सपथ लिएका छन् । मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन पछि नयाँ मन्त्रीका रूपमा नियुक्त भएका दुवैजना मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार बेलुका आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराइन्।
मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा कुशवाहाले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् भने यादवले वन तथा वातावरण मन्त्रालयको नेतृत्व लिएका छन्। मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा गठित मन्त्रिपरिषद् अब १२ सदस्यीय बनेको छ। यो पुनर्गठन संविधानको धारा १६८(९) बमोजिम गरिएको हो।
कुश्वाहा र यादवको यो दोश्रो इन्ट्री हो । वसन्तकुमार कुशवाहाले यसअघि कृषिमन्त्रीको रूपमा प्रदेश सरकारमा सेवा गरिसकेका छन् भने सञ्जयकुमार यादवले राज्यमन्त्रीको भूमिकामा कार्यानुभव सँगालिसकेका छन्। जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले यो फेरबदललाई नियमित प्रक्रियाको हिस्सा बताएका छन्।
“हामी सबैको पालो आउँछ भन्ने सोच राखेर अघि बढेका हौँ,” उनले भने, “नयाँ मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना छ।” यसअघि यी मन्त्रालयहरूमा सकिलमियाँ अन्सारी (उद्योग) र त्रिभुवन साह (वन) थिए। दुवैलाई पार्टीले फिर्ता बोलाएको हो।















