काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)को गङ्गानारायण श्रेष्ठ समूहले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ ।
पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह जेठ १२ गते माओवादीमा समाहित हुन लागेको हो । यसबारे निर्णय लिन सह–अध्यक्ष श्रेष्ठ समूहको जेठ ११ गते विस्तारित बैठक बस्दैछ । केन्द्रीय समितिको बहुमतले पार्टी एकताको निर्णय गर्ने र सिंगो पार्टी माओवादी केन्द्रसँग एकतामा जाने सहअध्यक्ष श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार दुई पार्टीबिच १२ गते एकता घोषणा गर्ने तय भएको छ । पूर्व–पश्चिम मध्यपहाडी मार्ग केन्द्रित अभियान अन्तर्गत जेठ १० गतेसम्मको कार्यक्रम सम्पन्न गरेर माओवादी टोली जेठ ११ गते काठमाडौँ आउँदै छन् ।
२०८० साल चैत ३ गते महिन्द्र सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । तर, पछि विभिन्न कारण एकता हुनबाट रोकिएको थियो ।















