१२ जेठ,वीरगञ्ज । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालू आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा रु ८ करोड २१ लाख ७० हजार १३२ राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख अविन्दर दासले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा उत्साहजनक रूपमा राजस्व संकलन भइरहेको जानकारी दिएका छन्।
दासका अनुसार कार्यालयले औसतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।
चालू आवमा कार्यालयले सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ रु ३ करोड ८३ लाख ८७ हजार २६७ संकलन गरेको छ। यसैगरी, सवारी चालक अनुमतिपत्र नयाँतर्फ रु १ करोड ६९ लाख ६५ हजार र अनुमतिपत्र थपतर्फ रु २८ लाख ४२ हजार राजस्व संकलन भएको छ। अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा रु ८३ लाख ७६ हजार र अनुमतिपत्र दर्ता थप शीर्षकमा रु ३३ लाख ६२ हजार राजस्व संकलन भएको छ।
अन्य शीर्षकहरूमा, अनुमतिपत्र नवीकरणतर्फ रु २७ लाख १६ हजार, सवारी विविधतर्फ रु ८ लाख २८ हजार ९५०, आयकरतर्फ रु ८ लाख ६० हजार ५२५ र पटके करतर्फ रु ३९ लाख ९२ हजार ४० राजस्व संकलन भएको कार्यालयले जनाएको छ।















