१२ जेठ,वीरगञ्ज । वीरगञ्जको घण्टाघर छेउको बीपी उद्यानमा वर्षौंदेखि अव्यवस्थित रूपमा लाग्दै आएको तरकारी बजार अब वडा नम्बर २ छपकैयास्थित रेल्वे रोडसँग जोडिएको सार्वजनिक जग्गामा सर्ने भएको छ। वीरगञ्ज महानगरपालिकाले तरकारी बजार सार्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
बीपी उद्यानको जग्गामा अनाधिकृत रूपमा लाग्दै आएको खुद्रा तथा थोक तरकारी बजारलाई महानगरपालिकाले रेल्वे रोडसँग जोडिएको ३२ कट्ठा सार्वजनिक जग्गामा सार्न लागेको हो। बीपी उद्यानमा पार्क निर्माणका लागि काम सुरु गरिसकेका कारण त्यहाँको तरकारी बजार स्थानान्तरण गर्न लागिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बताए।
उनका अनुसार, रेल्वे रोडसँग जोडिएको ३२ कट्ठा जग्गामा थोक तरकारी पसलहरूलाई राख्नका लागि महानगरपालिकाले आफ्नै बजेटमा सटरसहितको व्यवस्थित सेड निर्माण गरेको छ। साथै, बाउन्ड्री वाल निर्माणसँगै शौचालय पनि निर्माण गरिने कर्णले जानकारी दिए।
रेल्वे रोडसँग जोडिएको सार्वजनिक जग्गामा तरकारी बजारका लागि निर्माण गरिएको सटरसहितको सेडको अबको केही दिनमै टेन्डर निकालेर ठेक्कामा लगाइने र ठेक्का लागेलगत्तै बीपी उद्यानमा रहेको अहिलेको तरकारी बजार त्यहाँ स्थानान्तरण गरिने उनले बताए।
नवनिर्मित तरकारी बजारको महानगरका मेयर राजेशमान सिंहसहितको टोलीले स्थलगत निरीक्षणसमेत गरेको छ। मेयर सिंहका प्रेस सल्लाहकार ननवराज फुर्यालका अनुसार, प्रमुख प्रशासकीय अधिकृत कर्ण, लेखा अधिकृत रामकुमार कुशवाहा, इन्जिनियर प्रकाश अमात्य र राजिव उपाध्यायसहित स्थलगत निरीक्षणमा पुगेका मेयर सिंहले नवनिर्मित तरकारी बजारमा आवश्यक थप पूर्वाधारहरू यथाशीघ्र निर्माण गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
मेयर सिंहले रेल्वे रोडसँग जोडिएको जग्गामा तरकारी बजार स्थानान्तरण गरेलगत्तै बीपी उद्यानमा पार्क निर्माणको काम अगाडि बढाइने पनि जानकारी दिए।

















