१२ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गणतन्त्र दिवस जेठ १५ गते भव्य र प्रभावकारी रूपमा मनाउन नेताहरूको जिम्मेवारी विभाजन गर्दै सशक्त तयारी थालेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको जनसङ्गठनका अध्यक्ष, इन्चार्ज र उपत्यकाका वडा तहका पदाधिकारीहरुको भेलाले जनप्रदर्शनसहितको उत्सवलाई सफल पार्न शक्ति परिचालन गर्ने योजना बनाएको हो।
भेलामा महासचिव शंकर पोखरेलले गणतन्त्र दिवसलाई जनताले गर्वका साथ सम्झने गरी मनाउने तयारी भइरहेको जानकारी दिए। उनले राजसंस्थाको प्रवर्द्धनमा लागेकाहरूले फैलाइरहेका ‘भ्रम’ चिर्नका लागि सडकबाटै सशक्त सन्देश दिने उद्देश्यसहित जनप्रदर्शन गरिने बताए।
नेताहरूको क्षेत्रगत जिम्मेवारी
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनपरिचालनको मूल जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ। प्रदेशगत रूपमा नेताहरूको जिम्मेवारी बाँडिएको छ ।
कोशी प्रदेश : उपाध्यक्ष रामबहादुर थापा
मधेश प्रदेश : उपाध्यक्ष युवराज ज्ञवाली
ललितपुर : उपाध्यक्ष अष्टलक्ष्मी शाक्य
भक्तपुर : उपाध्यक्ष गुरु बराल
बागमती प्रदेश (उपत्यकाबाहेक १० जिल्ला) : उपाध्यक्ष सुरेन्द्र पाण्डे
संगठन र स्वयंसेवक परिचालन
गणतन्त्र दिवसको दिन उपत्यकाभित्र ठूलो संख्यामा कार्यकर्ता उतार्ने तयारीस्वरूप स्वयंसेवक परिचालनको जिम्मा उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई दिइएको छ। त्यस्तै, बागमती प्रदेशको समन्वय उपमहासचिव प्रदीप ज्ञवालीले सम्हाल्नेछन्।
अन्य प्रदेशहरूमा पनि निम्नअनुसार जिम्मेवारी तोकिएको छ ।
सुदूरपश्चिम र कर्णाली : सचिव लेखराज भट्ट
गण्डकी र लुम्बिनी : सचिव पद्मा अर्याल
संयोजन र निर्देशन
जनसङ्गठनहरुको संयोजन सचिव गोकर्ण विष्टले सम्हाल्ने छन्। उपत्यका विशेष संयोजनको जिम्मेवारी सचिव योगेश भट्टराईलाई दिइएको छ भने, सबै विभागको समन्वय सचिव छविलाल विष्कर्माले गर्नेछन्।
भेलाले जेठ १५ गते बिहान भृकुटीमण्डपमा एमाले नेता, कार्यकर्ता तथा जनसङ्गठन प्रतिनिधिहरू झाँकी, जुलुस र आफ्नो पहिचानसहित उपस्थित हुन निर्देशनसमेत दिएको छ। यसअघि आइतबार बसेको पार्टी सचिवालय बैठकले गणतन्त्र दिवसलाई भव्य बनाउने निर्णय गरेको थियो।
गणतन्त्र दिवसलाई सशक्त जनसन्देशका साथ मनाउन एमालेले देशभर आफ्नो संगठनको सम्पूर्ण संरचना परिचालन गर्दैछ। संविधान र गणतन्त्रको रक्षा र पुनः सुदृढीकरणका सन्देश दिन पार्टीले व्यापक जनसङ्लग्नता हुनेगरी तयारी गरिरहेको एमालेले जनाएको छ । यसको राजनीतिक सन्देश भने राजसंस्थाका पक्षधरहरूप्रति लक्षित हुने स्पष्ट देखिन्छ।

















