Logo

१३ जेठ, मकवानपुर ।  त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-३ मा सोमबार साँझ भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गोपाली गाउँबाट थानाबजारतर्फ गइरहेको बा ३ ख ५९९० नम्बरको यात्रुवाहक बसले पैदलयात्रुलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा खसेको थियो ।

दुर्घटनामा परी ठेगाना नखुलेका अन्दाजी ३५-४० वर्षका कृष्ण बलामी, लोकेन्द्रकुमार ठाकुर र सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेमध्ये कमलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा रिफर गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिका-१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र कोल्हवी नगरपालिका-१ का ३० वर्षीय रामगुलाम चौधरीको पालुङमै उपचार भइरहेको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको कमाण्डमा खटिएको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।

दुर्घटनामा संलग्न बस चालक थाहा नगरपालिका-५ निवासी २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार