१३ जेठ,वीरगञ्ज । मधेश प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ को अवसरमा प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरेको छ। यसका लागि गृह, सञ्चार तथा कानून मन्त्रालयले नेपाल पत्रकार महासंघका सबै शाखाहरूलाई सम्मानका लागि नाम सिफारिस गर्न आग्रह गर्दै पत्र जारी गरेको छ।
मन्त्रालयले जारी गरेको पत्र अनुसार, गणतन्त्रको मूल मर्म र भावना अनुरूप पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका अग्रज र संघर्षशील व्यक्तित्वहरूलाई “प्रेस स्वतन्त्रता सेनानी” को रूपमा सम्मान गरिनेछ।
सम्मानका लागि नाम संकलनको प्रक्रिया सुरु भइसकेको छ। प्रदेशभरका पत्रकार महासंघहरू, जस्तै सर्लाही, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा रहेका संघीयता र प्रेस स्वतन्त्रताको रक्षामा अग्रसर व्यक्तिहरूको नाम सिफारिस गरिनेछ।
सहभागिता र सिफारिसका लागि आग्रह
मन्त्रालयले पत्रकार महासंघहरूसँग सहकार्य गर्दै उक्त कार्यक्रममा सहभागिता सुनिश्चित गर्न अनुरोध गरेको छ। साथै, सबै जिल्लाबाट योगदान दिएका पत्रकार, सम्पादक, प्रकाशक वा स्वतन्त्र प्रेस रक्षामा योगदान पुर्याउने व्यक्तिको नाम सिफारिस गर्न पनि भनिएको छ। यस सम्मानले प्रेस स्वतन्त्रताको लागि लडेका व्यक्तित्वहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।


















