Logo

१८ जेठ, काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई राइड सेयरिङमार्फत सार्वजनिक यातायातको रूपमा प्रयोग गर्न दिएको नीतिविरुद्ध भोलिदेखि सवारी साधन थन्क्याउने घोषणा गरेका छन्।

आन्दोलनका क्रममा देशभरका गाडी घर वा ग्यारेजमा थन्क्याइने भएको छ, जसका कारण यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुने जनाइएको छ।

आइतबार सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने निर्णय सार्वजनिक गरेका हुन्।

व्यवसायीहरूका अनुसार गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६, उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ ९२० र दफा १२ ९१० विपरीत निजी सवारीसाधनलाई राइड सेयरिङमार्फत सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न दिने नियमावली ल्याएको छ। उनीहरूले यसलाई गैरकानुनी र व्यवसायीमाथिको प्रत्यक्ष हमला भएको ठहर गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “आजसम्म पनि नेपाल सरकारले हाम्रो आवाज नसुनेपछि बाध्य भइ मिति २०८२र२र१९ गतेदेखि देशभर सवारी साधन घर र ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको छ।” उनीहरूले सेवा ठप्प हुँदा यात्रु र अन्य सरोकारवाला पक्षलाई पर्न सक्ने असुविधाको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी पनि दिएका छन्।

यातायात व्यवसायीहरूले संघीय सरकार र गण्डकी प्रदेश सरकार दुवैलाई पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको गुनासो गर्दै उनीहरूले अबको आन्दोलन ‘न्यायका लागि गरिएको बाध्यात्मक कदम’ भएको बताएका छन्।

पर्यटक सवारीमा अवरोध नगर्न आग्रह

यता, पर्यटन व्यवसायीहरूले भने आन्दोलनको क्रममा विदेशी तथा आन्तरिक पर्यटक चढ्ने गाडीहरूमा अवरोध नगर्न सार्वजनिक यातायात व्यवसायीलाई आग्रह गरेका छन्। पर्यटन क्षेत्रमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले कम्तीमा पर्यटक प्रयोजनका गाडीहरूलाई सेवा सञ्चालन गर्न दिने वातावरण मिलाउन माग गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै