२९ जेठ, रौतहट । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न थालेको प्रतिकूल असरलाई ध्यानमा राख्दै रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयहरू बिहानी सत्रमा सञ्चालन गर्न निर्देशन दिएको छ।
बुधबार प्रकाशित सूचनामार्फत गौर नगरपालिकाले बिहीबारदेखि लागु हुने गरी सामुदायिक तथा निजी विद्यालयहरूलाई बिहान ६ बजेदेखि ९:३० बजेसम्म कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।
नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तमकुमार उपाध्यायका अनुसार पछिल्ला दिनहरूमा चर्को घाम र तातो हावाका कारण दिउँसो कक्षा सञ्चालन गर्दा विद्यार्थीहरू मुर्छिने, अत्यधिक थकाइ लाग्ने, र स्वास्थ्यमा असर पर्ने जस्ता समस्या देखिन थालेका थिए। अभिभावक र विद्यालयहरूको सुझावपछि नगरपालिकाले यो निर्णय लिएको हो।
निर्देशनमा उल्लिखित समयमै कक्षा सञ्चालन नगर्ने विद्यालयमाथि कारबाही हुने चेतावनीसमेत दिइएको छ।
यता, दुर्गाभगवती गाउँपालिकाले पनि अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार दुई दिन विद्यालयहरूमा ‘गर्मी बिदा’ दिएको छ। गाउँपालिका अध्यक्ष शम्भु सिंहका अनुसार यो बिदा वर्षे बिदाबाट कट्टा गरिनेछ।
रौतहटका १८ स्थानीय तहमध्ये हालसम्म गौर र दुर्गाभगवती मात्रले गर्मीका कारण विद्यालय सञ्चालनमा विशेष निर्णय गरेका छन्। बाँकी पालिकाहरूले भने कक्षा सञ्चालन सम्बन्धी कुनै निर्णय सार्वजनिक गरेका छैनन्।















