Logo

१ असार , काठमाडौं  । स्कटल्यान्डको ग्लास्गोमा आजदेखि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला सुरु हुँदैछ। पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।

नेपालले शृङ्खलाको आफ्नो पहिलो खेल भोलि नेदरल्यान्ड्ससँग खेल्नेछ भने दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

यस शृङ्खलाका लागि नेपाली टोलीमा केही नयाँ अनुहारको आगमन भएको छ। दाहिने हाते तीव्र गतिका बलर रुपेश सिंह र युवा खेलाडी किरण ठगुन्नाले राष्ट्रिय टोलीबाट पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल्ने अवसर पाएका छन्।

तर, चोटका कारण दुई महत्त्वपूर्ण खेलाडी सोमपाल कामी र गुलशन झा यो शृङ्खलाबाट बाहिरिएका छन्। अभ्यास खेलका क्रममा घाइते भएका उनीहरू पूर्ण रूपमा फिट नभएकाले टोलीबाट विश्राम दिइएको छ।

शृङ्खलाले आगामी टी–२० विश्वकप तयारीका लागि नेपाललाई महत्त्वपूर्ण अवसर दिने विश्वास गरिएको छ। युवा र अनुभवको सम्मिश्रण रहेको नेपाली टोलीले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै