१० जेठ, काठमाडौं । नेपालले आज देखि व्यावसायिक रूपमा दैनिक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न सुरु गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले शनिबार राति १२ बजेदेखि आगामी कात्तिक २९ गते अर्थात नोभेम्बर १५ सम्मका लागि यो निर्यात सुरु गरेको हो। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा बंगलादेश विद्युत् निर्यातको प्रक्रिया अघि बढेको थियो।
ऊर्जामन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् भारत र बंगलादेश जस्ता छिमेकी मुलुकमा निर्यात गर्न पाउनु खुसीको कुरा भएको बताएका छन्। यसले समग्र ऊर्जा व्यवसायी र नेपालको समृद्धिका लागि सकारात्मक भूमिका खेल्ने उनको भनाइ छ। बंगलादेशसँगको विद्युत् निर्यात सम्झौता पाँच वर्षको अवधिका लागि गरिएको छ। हिउँदमा विद्युत् उत्पादन कम हुने भएकाले वर्षायाममा मात्र निर्यात गर्ने गरी यो सम्झौता भएको हो।
नेपाल सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट विदेश निर्यात गर्ने लक्ष्य लिएको छ। यसमध्ये, ५ हजार मेगावाट बंगलादेशलाई र १० हजार मेगावाट भारतलाई बेच्ने योजना छ।

















