३ असार, वीरगञ्ज । महोत्तरीको गौशाला नगरपालिकामा मेयर दिपेन्द्र महतो र उपमेयर रेणुकुमारी महतोबीचको विवाद उत्कर्षमा पुगेको छ । उपमेयर रेणुकुमारी महतोलाई आज (मंगलबार) कार्यालय प्रवेशमा रोक लगाइएको छ । मेयर दिपेन्द्र महतोले “गुण्डागर्दी शैलीमा गेटबाटै छिर्न नदिएको” भन्दै उपमेयर महतोले भिडिओमार्फत् असन्तुष्टि पोखेकी छन् ।
उपमेयर महतोले मेयर महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा दर्ता चलानीको कोलम खाली राखेर अनियमितता गरिरहेको आरोप लगाएकी छिन् । यसै विषयमा हिजो (सोमबार) उनले रजिष्टर नियन्त्रणमा लिएकी थिइन् । मेयर र उपमेयर दुवै जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका हुन् ।
कार्यालयमा उपमेयरलाई छिर्न नदिन नगर प्रहरी तैनाथ गरिएको भिडिओमा प्रष्ट देखिन्छ । आज बिहानैदेखि कार्यपालिका बैठक बसिरहेको जानकारी दिँदै उपमेयर महतोले नगरबासीसँग सहयोगको अपिल गरेकी छिन् ।
उपमेयर महतोले भनिन्, “दर्ता चलानी धेरै ठाउँमा खाली राखिएको छ । किन खाली राखेको हो ? यो विषयमा छानबिन हुनुपर्छ ।” उनले थपिन्, “आज बिहान ८ बजे कार्यपालिकाको बैठक राखिएको थियो । म करिब साढे ८ बजे पुगें । तर, भित्र प्रवेश गर्नै दिएनन् । वातावरण ठिक थिएन । म फर्कें । त्यसपछि कार्यालय समयमा पुग्दा पनि भित्र प्रवेश गर्न दिएको छैन ।”
मेयरको निर्देशनमा कर्मचारीले आफूलाई भित्र प्रवेश गर्न नदिएको भन्दै उपमेयर महतोले आफ्ना अधिकारका लागि लडिरहने उद्घोष गरेकी छन् ।
यस विषयमा जानकारी लिन मेयर दिपेन्द्र महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीलाई सम्पर्क गर्न खोज्दा उहाँहरूको फोन उठेन । यस घटनाले गौशाला नगरपालिकामा राजनीतिक र प्रशासनिक तनाब थप बढाएको छ ।















