Logo

५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपालीहरूलाई सेयर बजारमा लगानी गर्न सहज बनाउँदै महत्त्वपूर्ण कदम चालेको छ।

विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा चौथो संशोधन गर्दै राष्ट्र बैंकले इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिन सजिलो बनाएको हो। संशोधित विनियमावली अनुसार, गैरआवासीय नेपालीले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिनका लागि विदेशी लगानीको स्वीकृति पाउनुअघि नै रकम नेपाल भित्र्याउन सक्नेछन्। यसरी रकम भित्र्याइसकेपछि विदेशी लगानीको स्वीकृति प्राप्त भएमा पनि यसलाई नियम विपरीत मानिने छैन।

राष्ट्र बैंकले सेयर बाँडफाँडमा नपरेको रकम विदेश फिर्ता गर्न पनि सहज व्यवस्था गरेको छ। अब यदि आवेदन गरेको रकम फिर्ता गर्नुपरेमा, खाता रहेको बैंक तथा वित्तीय संस्था वा आवेदक गैरआवासीय नेपालीले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी वा सोको शेयर रजिस्ट्रारको सिफारिससहित सम्बन्धित एकाईमा निवेदन पेस गर्नुपर्नेछ।

यसका साथै, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम कर बापतको रकम सम्बन्धित विदेशी लगानीकर्ता, उद्योग, कम्पनी वा कर कार्यालयको नाममा सिधै बैंक तथा वित्तीय संस्थामार्फत भित्र्याउन सकिनेछ। यो रकम भित्र्याउनका लागि राष्ट्र बैंक वा विदेशी लगानी स्वीकृत गर्ने निकायको पूर्वस्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ, जसले गैरआवासीय नेपालीका लागि लगानी प्रक्रियालाई अझ सरल बनाएको छ।


सम्बन्धित समाचार