८ असार, काठमाडौं । नेपालको सेयरबजार, विशेषगरी नेप्से सूचक २६०० अंकको हाराहारीमा घुमिरहँदा, लगानीकर्ताहरूले नाफा कमाउनुभन्दा बढी सम्पत्ति गुमाइरहेका छन्। बजारलाई सकारात्मक दिशामा लैजाने विभिन्न सूचकहरूमा सुधार आउँदा पनि माहोल सकारात्मक नबन्दा नाफा कमाउने लगानीकर्ताको संख्या घटेको छ।
पछिल्लो एक महिना (जेठ महिना)मा कुल २७२ कम्पनीमध्ये जम्मा ९ वटा कम्पनीका लगानीकर्ताले मात्र प्रति कित्ता १०० रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्, भने अन्यको आम्दानी नगण्य रहेको नेपाल स्टक एक्सचेन्जको तथ्याङ्कले देखाएको छ। सोही अवधिमा १७ कम्पनीको मूल्य भने १०० रुपैयाँभन्दा बढीले घटेको छ।
जेठ महिनाभर २२ वटा कम्पनीको सेयर कारोबार नै भएन। कारोबार भएका २५० कम्पनीमध्ये ओम मेगाश्री फम्र्यास्युटिकल्स, सप्तकोशी विकास बैंक, चन्द्रागिरि हिल्स, बुटवल पावर कम्पनी, राधी विद्युत् कम्पनी, रिभरफल्स पावर कम्पनी, सुपर मादी हाइड्रोपावर, युनिलिभर र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले मात्र राम्रो नाफा कमाए। ओम मेगाश्री फम्र्यास्युटिकल्सको मूल्यमा ९१९ रुपैयाँको वृद्धि देखियो, जबकि युनिलिभरमा ५५५ रुपैयाँ र आत्मनिर्भर लघुवित्तमा ४६१ रुपैयाँ प्रति कित्ता वृद्धि भएको छ। अन्यको वृद्धि १०० देखि २०० रुपैयाँसम्म मात्रै छ।
बैंकहरूको ब्याजदर सस्तिएसँगै सेयर धितो कर्जा लिने लगानीकर्ताको संख्या अत्यधिक बढेको छ, जसले वैशाख मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको कर्जा लिएका छन्। सेयर कर्जामा वैशाखसम्म ३९ प्रतिशतले वृद्धि भए पनि यसले बजारमा सेयरको माग बढाउन सकेको छैन। मागमा निरन्तर कमी आउँदा समग्र बजार २६०० अंकको यात्रा पार गरी उकालो लाग्न सकेको छैन।
सेयर लगानीकर्ता सुदेश सिटौलाका अनुसार जेठ महिनामा छोटो समयका कारोबारीले समेत कमाउन सकेनन्, किनकि बजार बढ्ने वा नबढ्ने अनिश्चितता कायम रहँदा माग घटेको छ। जेठ महिनामा प्रति कित्ता १० रुपैयाँभन्दा कम आम्दानी गर्ने कम्पनी ५२ वटा छन्, जुन कुल कारोबारमा आएका कम्पनीको २० प्रतिशत हो। बजारमा लगानीकर्ताको आत्मविश्वास फर्किन नसक्दा मूल्यमा ठूलो अन्तर देखिन छोडेको उनी बताउँछन्।
जेठ महिनाभर नेप्से सूचकमा पनि ठूलो उतारचढाव देखिएन, यो अवधिमा सूचक जम्मा ८ अंकले मात्र बढेको छ।
कर्जाको ब्याज एकल अंकमा झर्नु, सेयर धितो कर्जामा लागेका सीमा हट्नु र कर्जा सहजीकरण हुनु जस्ता सकारात्मक पक्षहरूले समेत बजारमा माहोल सिर्जना गर्न सकेका छैनन्। आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक जुटिरहँदा सेयरबजारमैत्री मानिने विश्वनाथ पौडेल गभर्नरमा छन्। उनले बजारलाई उत्पादनमूलक क्षेत्रसँग जोड्नुपर्ने धारणा राख्दै बजार सुधारका लागि पहल गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। मौद्रिक नीति निर्माणका लागि धितोपत्र बजार बुझेका पूर्व(अध्यक्ष रेवत बहादुर कार्कीको संयोजकत्वमा अध्ययन समिति समेत गठन भएको छ, जसले बैंकिङ क्षेत्रको नीति निर्माणमा सेयरबजारमैत्री नीति आउने संकेत गरेको छ। यी सबै सकारात्मक सूचनाले बजारमा प्रभाव पार्नुपर्नेमा त्यसको कुनै असर देखिएको छैन।
म्भभउ च्भकभबचअज
ऋबलखबक















