Logo

८ असार, काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा नेपालले मोबाइल फोन चार्जर आयात गर्न ३० करोड २९ लाख रुपैयाँ बाहिर पठाएको छ। यो रकम भारत, चीन लगायत विभिन्न देशबाट ३९ लाख ४२ हजार ८६६ थान मोबाइल चार्जर खरिद गर्दा खर्च भएको हो।

भन्सार विभागका अनुसार, यी चार्जरहरू भारत, चीन, अष्ट्रेलिया, क्यानडा, साइप्रस, फ्रान्स, जर्मनी, हङकङ, इजरायल, इटाली, जापान, कोरिया, पोल्याण्ड, पोर्चुगल लगायतका देशबाट भित्र्याइएका छन्। यसबाट नेपाल सरकारले जम्मा ९४ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

मोबाइल चार्जरको आयातमा चीन प्रमुख स्रोत बनेको छ। चीनबाट ३५ लाख ७० हजार थान चार्जर आयात गर्न २८ करोड १० लाख रुपैयाँ खर्च भएको छ, जसबाट सरकारले ८ करोड ६२ लाख रुपैयाँ राजस्व उठाएको छ।

त्यसैगरी, भारतबाट पनि ११ महिनामा ३ लाख ७२ हजार ६९२ थान चार्जर आयात भएका छन्, जसका लागि २ करोड १७ लाख रुपैयाँ खर्च भएको र ८० लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। समग्रमा, चीन र भारत सस्तो तथा व्यापक आपूर्ति भएका कारण नेपालमा मोबाइल चार्जरका प्रमुख स्रोत बनेका छन्।

भारत र चीन दुवैले इलेक्ट्रोनिक सामान उत्पादनमा ठूलो लगानी र प्राथमिकता दिएका छन्। भारतमा पीएलआई, पीएमपी, मेक इन इन्डिया जस्ता कार्यक्रमहरूले चिपसेट, चार्जर, कनेक्टर उत्पादकहरूलाई विशेष सहुलियत दिइरहेका छन्। चीनको मोबाइल चार्जर बजार २०२३ मा लगभग ५।८ खर्ब रुपैयाँको रहेकोमा यसलाई २०३० सम्ममा अझ बढाउने लक्ष्य छ।

यी दुई देशले विश्वभर आफ्ना इलेक्ट्रोनिक वस्तुहरू फैलाउन तीव्र प्रतिस्पर्धा गरिरहँदा, नेपालमा भने यस्ता वस्तुको उत्पादनमा खासै जोड दिइएको छैन। सरकारी नीतिहरूले समेत यस क्षेत्रमा ध्यान दिन नसकेको देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै