९ असार, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले सुनको दर बढाएर नेपाल ‘ग्रे लिस्ट’ बाट बाहिर ननिस्कने स्पष्ट पारेका छन्।
उनले सरकारका सचिवहरूले ग्रे लिस्टबाट हट्न सुनको मूल्य बढाएको भनी गरेको दाबीलाई‘झुटो’संज्ञा दिँदै यस्ता तर्क नगर्न आग्रह गरे।
अर्थसमितिको सोमबारको बैठकमा बोल्दै शाहीले ग्रे लिस्टबाट बाहिर निस्कन सम्पत्ति शुद्धीकरण र करको दायरा विस्तारमा जोड दिनुपर्ने बताए। यो सुन गएर भारतबाट किनेर ल्याऊ, नेपालको व्यवसाय बन्द गर भनेर भारतको एम्बेसीबाट काम भएको हो, उनले भने, ग्रे लिस्टबाट हट्न सम्पत्ति शुद्धीकरण गर्नुपर्छ। सुनको दरमा रेट बढाएर ग्रे लिस्टबाट आउट हुन्छ? यो नभनिदिनुस्।’
शाहीले सुनको मूल्य बढाउनु भनेको नेपाली सुन व्यवसायीहरूलाई ठप्प पार्नु र कमिसन खाने बाटो खोल्नु बराबर भएको टिप्पणी गरे। उनले यस विषयमा तत्काल उचित निर्णय नभए नेपालका १० लाख परिवारको घरबार उजाडिने चेतावनीसमेत दिए।
उक्त बैठकमा आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका साथै बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ संशोधनबारे पनि छलफल भएको थियो।















