१० असार, काठमाडौं । एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको कोजल टुन्कु जाफर ओभल मैदानमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।
नेपाल र जापान दुवै टोली पहिलो खेलमा विजयी भएका छन् र लगातार दोस्रो जितको खोजीमा छन् ।
नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। कप्तान विपिनप्रसाद शर्माको नेतृत्वमा खेल्ने नेपाली टोलीले बल र ब्याटमा सन्तुलित प्रदर्शन गरिरहेको छ ।
सिंगापुरविरुद्ध विपिनले ४ विकेट लिँदा, प्रसिद्ध जैसीले अविजित ५५ रन बनाउँदै टोलीलाई सहज जित दिलाएका थिए ।
जापानले पहिलो खेलमा भुटानमाथि २१५ रनको विशाल जित हात पारेको थियो। कप्तान चार्ली हाराहिन्जेको कप्तानीमा जापानले निकै सशक्त प्रदर्शन गरिरहेको छ ।भुटानविरुद्ध चार्लीले ४२ रन बनाउनुका साथै ४ विकेट लिएका थिए, जबकि ओपनर काइसी काबायाशीले शतक प्रहार गर्दै खेलको रुख नै मोडेका थिए ।
नेपालले प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट लगायत प्रतिभावान खेलाडीलाई मैदानमा उतार्नेछ। जापानतर्फ काइसी काबायाशी, मोन्टी हाराहिन्जे, इशान लाल जस्ता खेलाडी नेपालका लागि चुनौती बन्न सक्छन् ।
आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण हुनेछ, जसले सेमिफाइनल यात्रा थप सुनिश्चित गर्नेछ। नेपाली टोली बलियो लयमा देखिए पनि जापानसँगको टक्कर कडा र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

















