११ असार, काठमाडौं । बढ्दो गर्मीले अण्डा उत्पादनमा भारी गिरावट आएको छ ।
अत्यधिक गर्मीका कारण कुखुराले दाना कम खाएपछि अण्डाको उत्पादनमा करिब २५ प्रतिशतले कमी आएको हो । यो सँगै नेपालमा यसको मूल्य अकासिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा.अनन्त दाहालका अनुसार गर्मीले गर्दा दाना खपत घट्छ र अण्डा उत्पादनमा कमी आउँछ। विशेषगरी वर्षायाममा आद्रता बढ्दा गर्मीको तनाव अझ बढ्छ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. विजयकुमार श्रेष्ठले चितवन र आसपासका ५० वटा फार्ममा एचनाइन जस्ता रोगको संक्रमण देखिएको बताएका छन्। यसका साथै गम्बारो र साल्मोनेलाजस्ता समस्याले पनि उत्पादन घटाएको छ। वर्षातमा चर्को गर्मी र ढुसीजन्य आहारका कारण यस्ता रोगहरू बढ्छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार दानाको मूल्य बढ्नु र अण्डाको मूल्य घट्नुले धेरै किसानले कुखुरा बेच्न बाध्य भएका छन्। नयाँ चल्ला राख्न नसक्नु र धेरै किसानहरू विस्थापित हुनुले पनि उत्पादनमा कमी आएको हो।
मूल्यवृद्धि र मागको अवस्था
हाल दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले २८ देखि ३० हजार कार्टुनमा झरेको छ। उत्पादन घट्दा बजारमा अण्डाको माग धान्न कठिन भएको छ। विद्यालय, क्याम्पस खुलेका र पर्यटकको संख्या बढेकाले पनि बजारमा अण्डाको माग बढेको पोखरेल बताउँछन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी समर्थन मूल्य बढाएको छ। बढेको मूल्यअनुसार चितवनमा ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट ४८० रुपैयाँ र मझौलाको ४५० रुपैयाँ कायम भएको छ। दुवैमा प्रतिक्रेट ३० रुपैयाँको वृद्धि भएको हो। व्यवसायीहरूले यसलाई होलसेलमा प्रतिकार्टुन ९सात क्रेट० ठूलो अण्डा ३ हजार ५४० रुपैयाँ र मझौला ३ हजार ३३० रुपैयाँमा बिक्री गर्नेछन्।
गत वर्ष प्रतिक्रेट ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा झरेको थियो। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ।















