२० असार, काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सँग सम्बन्धित सबै सेवाहरू बन्द गरेको छ।
प्रणालीमा समस्या आएको भन्दै विभागले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द रहने जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै भनेको छ, ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा ‘ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणालीहरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ।’
विभागका अनुसार, उक्त समस्याको समाधानका लागि कार्य भइरहेको छ र अर्को सूचना प्रकाशन नभएसम्म लाइसेन्ससँग सम्बन्धित कुनै पनि सेवा सञ्चालनमा आउने छैनन्। यसले लाइसेन्स बनाउने, नवीकरण गर्ने वा अन्य कुनै सेवा लिन चाहने सेवाग्राहीहरूलाई केही असहजता हुने देखिन्छ।

















