Logo

९फागुन,काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले नटआउट ३१ रन बनाए । नेपालको १ सय ३८ रन हुँदा ८ खेलाडी आउट भएको अवस्थामा रोहित र करणले नवौँ विकेटका लागि ७५ रनको साझेदारी गरे । यो साझेदारी नेपालले एकदिवसीय क्रिकेटमा गरेको अहिलेसम्मको उच्च साझेदारी हो ।

स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए ।यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयो । नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १÷१ विकेट लिए ।नेपालले घरेलु मैदानमा भएको शृङ्खलामा खेलेका ४ वटै खेल जितेको छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो ।

त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो । लिग–२ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो । योसँगै नेपालले शृङ्खलामा क्लिन स्वीप गरेको छ ।यो जितसँगै नेपाल २८ खेलमा २६ अङ्कसहित छैटौँ स्थानमा छ ।

३६ खेलमा ५० अङ्क रहेको स्कटल्यान्ड लिग–२ को च्याम्पियन बनिसकेको छ । स्कटल्यान्डले आजै लिग–२ च्याम्पियनको ट्रफी पाउनेछ । लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमन ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमन दुवै टोली विश्व कपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्व कपका लागि छनोट हुनेछन् ।

लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अङ्क छ । अब नामिबियाका २ खेल बाँकी छन् । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अङ्क छ ।नेपालले ९ वटा खेल खेल्न बाँकी छ ।

पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा ५ अङ्कमात्रै जोडेको छ । नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अङ्क हुनेछ । नेपालले सबै खेल जितेमा ४२ अङ्क हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग ४–४ खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय शृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ ।


सम्बन्धित समाचार