२३ असार,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, जिल्ला समिति पर्साले स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले पत्रकारहरूमाथि दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले ठाकुरलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
महासंघका अनुसार, गत असार २२ गते बेग्लै कार्यक्रमको सिलसिलामा स्वास्थ्य कार्यालय पर्साको तालिम चलिरहेको स्थानमा पुगेका यस शाखाका कार्य समिति सदस्य आरोहणकुमार साह, पत्रकारहरू राजु बैठा, राकेशकुमार साह, सन्तोषकुमार कुशवाह, अर्जुन चौधरी, आनन्दकुमार पटेल लगायतलाई स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द बोल्दै गालीगलौज गरी दुव्र्यवहार गरेका थिए। यस घटनालाई महासंघले आपत्तिजनक भनेको छ।
पत्रकार महासंघ पर्साले दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृतलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराइसकेको सचिव विजयकुमार महतोले बताएका छन्। उनले प्रहरी प्रशासनका जिल्लास्थित उच्च अधिकारीले पत्रकारमाथि दुव्र्यवहार गर्नेलाई कानुनी कारबाही बढाउनेतर्फ भरपर्दो परिणाम देखाउन नसक्दा प्रहरी प्रशासनको भूमिकाप्रति सन्देह उत्पन्न भएको पनि उल्लेख गरेका छन्।
महासंघले यदि पत्रकारलाई दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृतलाई तत्काल कानुनी कारबाहीको दायरामा नल्याइए पत्रकार महासंघ संघर्षको कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।


















