२५ असार, काठमाडौं । सरकारी कार्यालयहरुले आर्थिक वर्ष २०८१/८२ को सरकारी खर्चको अन्तिम भुक्तानी आज दिइँदैछन् ।
महालेखा नियन्त्रक कार्यालयले असार २५ गतेपछि चेक जारी गर्न निषेध गरेकाले चालु आर्थिक वर्ष अत्यावश्यक बाहेकका सबै खर्चको भुक्तानी आजै (बुधबार) भित्र गरिसक्नुपर्नेछ। सरकारले मंगलबारसम्म कुल बजेटको ७८ दशमलव ८४ प्रतिशत मात्र खर्च गरेको छ। संशोधित अनुमानअनुसार कुल १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने लक्ष्य रहेकामा असार २४ गतेसम्म १४ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ मात्र खर्च भएको छ। यो लक्ष्य पूरा गर्न आज एकै दिन १ खर्ब ९५ अर्ब ७९ करोड रुपैयाँ बराबरको भुक्तानी दिनुपर्ने अवस्था देखिएको छ।
खर्चको अवस्था र बाँकी रकम
चालु खर्चः १० खर्ब ९ अर्ब ४८ करोड रुपैयाँको संशोधित अनुमान रहेकोमा असार २४ गतेसम्म ९ खर्ब ६४ अर्ब १ करोड रुपैयाँ खर्च भएको छ। संशोधित लक्ष्य भेट्टाउन आज ४५ अर्ब ४७ करोड रुपैयाँ खर्च गर्नुपर्नेछ।
पुँजीगत खर्चः २ खर्ब ९३ करोड ८६ लाख रुपैयाँको संशोधित अनुमान रहेकोमा असार २४ गतेसम्म १ खर्ब ८६ अर्ब ६१ करोड रुपैयाँ मात्र खर्च भएको छ। यसका लागि आजै १ खर्ब ७ अर्ब २५ करोड रुपैयाँको भुक्तानी दिनुपर्नेछ।
वित्तीय व्यवस्थाः ३ खर्ब ५८ अर्ब ४६ करोड रुपैयाँको संशोधित अनुमान रहेकोमा असार २४ गतेसम्म ३ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ। आज ४२ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

















