२५ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष सुनमा विलाशीता कर र मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेपछि सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेपछि सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका हुन् । सरकारको निर्णयपछि सुनचाँदी व्यवसायिहरु पछिल्लो महिना लगातार आन्दोलनमा छन् । यसै विरोधस्वरूप नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले आज काठमाडौंमा बृहत् र्याली र कोणसभा कार्यक्रम गरेका छन् ।
न्युरोडस्थित जुद्धशालिकबाट सुरु भएको यो विरोध र्याली इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट हुँदै पुरानो नगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा व्यवसायीहरूले नयाँ कर नीतिले व्यवसायमा पार्ने नकारात्मक असर र उपभोक्तामा पर्ने थप भारबारे आवाज उठाएका थिए। उनीहरूले तत्काल यी करहरू फिर्ता लिन सरकारसँग माग गरेका छन् । यो आन्दोलनले आगामी दिनमा सरकारलाई आफ्नो कर नीतिबारे पुनर्विचार गर्न दबाब दिनेछ कि हेर्न बाँकी छ ।


















