२५ असार, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको मौद्रिक नीति अनुशासित र लचिलो दुवै हुनुपर्नेमा जोड दिएका छन् ।
बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । पुनले उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा कर्जा प्रवाहलाई प्राथमिकता दिने गरी मौद्रिक नीति आउनुपर्ने बताएका छन्। उनले भने, ‘यो पटकको वित्त नीति सङ्कुचित भएर आयो । आवधिक योजनामा लक्ष्य गरेकोभन्दा पनि कम हुँदै आएको छ। बजेटको आकार एकातिर अर्कोतिर बजेटको स्रोत कम भयो भन्ने नाममा थप सङ्कुचन गर्दै आयौं। मौद्रिक नीतिमा पनि धेरै ठाउँ छैन। नयाँ गभर्नरबाट निजी क्षेत्रले ठूलो आशा गरेको छ ।’
नियमनमा कडाइ, मनोबलमा उच्चता
पूर्वअर्थमन्त्री पुनले मौद्रिक नीतिमा ठूलो परिवर्तनको सट्टा अनुशासित खालको नीति ल्याउन आवश्यक रहेको बताए । उनले विगतको संकटमा बढी नै लचिलो र नियमन कमजोर भएकाले अहिले त्यस्तो हुन नहुनेमा जोड दिए । उद्योग व्यवसायको मनोबल उच्च राख्दै नियमनको पक्षलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ। ठूला कर्जा लिएका उद्योगहरूको आर्थिक अवस्थामा देखिएको बेथितिलाई पनि उनले औंल्याए ।

















