Logo

२५ असार, काठमाडौं । काठमाडौंको बौद्ध, नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँ स्रोत नखुलेको रकमसहित एक चिनियाँ नागरिक वाङ जियान पक्राउ परेका छन् ।  प्रहरी अनुसन्धानका क्रममा उनले आफू बोधिचित्तको माला खरिद गर्न नेपाल आएको बताएका छन् ।

आइतबार राति १० बजे वाङ जियानको डेरामा छापा मारेर प्रहरीले उक्त रकम बरामद गरेको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, ‘उनले आफूलाई बोधिचित्तको माला किन्न आएको भनेर चिनाएका छन्, यो माला खरिद गर्ने सिजन पनि हो। तर, त्यो रकमको स्रोत नखुलेकाले नियन्त्रणमा लिइएको हो।’

प्रहरीले उक्त रकम हुन्डी कारोबारबाट आएको हुन सक्ने अनुमान गरेको छ। पक्राउ परेका चिनियाँ नागरिक डेढ महिनाअघि मात्रै भिजिट भिसामा काठमाडौं आएको र बिजनेस भिसामा परिणत गर्ने तयारी गरिरहेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार, प्रहरीले जिल्ला अदालत काठमाडौंबाट विस्तृत अनुसन्धानका लागि म्याद लिएर थप जाँच गरिरहेको छ ।

बोधिचित्त र यसको मूल्य

जानकारहरूका अनुसार, २०७०७१ सालतिर तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो प्रवचनमा बोधिचित्तको महत्वबारे व्याख्या गरेपछि यसको मूल्य ह्वात्तै बढेको हो । चीनमा बोधिचित्तको माला महँगोमा बिक्री हुने गर्छ। यही कारण तिमाल क्षेत्रबाट बोधिचित्त लुटपाट भएको घटनाहरू बेलाबेला सार्वजनिक हुने गरेका छन् । यस घटनाले नेपालमा गैरकानुनी वित्तीय कारोबार र मूल्यवान् जडीबुटी तथा वस्तुको अवैध व्यापारको सम्भावित सम्बन्धमा थप अनुसन्धानको आवश्यकता देखाएको छ ।


सम्बन्धित समाचार
भर्खरै