२९ असार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत पार्टीका नेताहरूलाई कारबाही गरेको भन्दै असन्तुष्ट समूह निर्वाचन आयोग पुगेको छ।
पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वर्तमान महामन्त्री धवलशमशेर राणा, अनुशासन समितिबाट हटाइएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी लगायतका नेताहरू अहिले आयोगसँग छलफलमा छन्।
शनिबार भएको छुट्टै भेलाको निर्णयअनुसार संस्थापनइतर समूह निर्वाचन आयोग पुगेको हो। सो भेलाले अध्यक्ष लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रियासम्मत नभएको आरोप लगाउँदै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णयविरुद्ध आयोग जाने निर्णय गरेको थियो। उनीहरूले अध्यक्ष लिङ्देनले विधानविपरीतका कार्य गरेको र मनमानी रूपमा संगठन चलाएको आरोप लगाएका छन्।
केही दिनअघि मात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए। यसका साथै नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए।
यो निर्णयलाई राणा समूहले अवैधानिक भनेको छ। राप्रपाको विधानअनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर मात्र कसैलाई हटाउन सकिने व्यवस्था रहेकाले यो निर्णय अवैधानिक भएको इतर समूहको आरोप छ।

















