Logo

११ फागुन,वीरगञ्ज । २०५९ सालदेखि बन्द वीरगञ्जस्थित कृषि औजार कारखानामा हिजोआज राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर र प्राविधिकको चहलपहल छ ।

सरकारले २०७९ भदौ ३१ गते मन्त्रीपरिषद्को बैठकले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालनका लागि १० बर्षको लागि दिने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार अर्थ मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले २०७९ असोज ११ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

कारखानाभित्र आविष्कार केन्द्रका स्वयंसेवी खटिएपछि बेल्चा, गैती, कुटो, पाटे कुटो, चुच्चे कुटो, कल्टिभेटर (ट्याक्टरमा लगाउने हलो) लगायत कृषि सामग्री नमुनाका रुपमा उत्पादन गर्न थालिएको छ ।

मेकानिकल इन्जिनियर प्रज्वल कोजु औजार बनाउने, परीक्षण गर्ने र नमुना निकाल्ने कामले गति लिएको बताउँछन् । कृषि औजार कारखानामा अहिले कोजुकै नेतृत्वमा आविष्कार केन्द्रका १३ जनाको टोली खटिएको छ ।

टोलीले पहिलो चरणमा त्यहाँका ५४ वटा मेसिन मर्मत सम्भारपछि चल्न सक्ने÷नसक्ने अवस्था जाँचेर त्यसको रिपोर्ट अर्थ मन्त्रालयमा पनि बुझायो । दोस्रो चरणमा माघ १० गतेदेखि काम लाग्ने मेसिन मर्मत गरेर कृषि औजार उत्पादन, परीक्षण र नमुना निकाल्ने काम भइरहेको छ ।


सम्बन्धित समाचार