३० असार, काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई जिम्मेवारी तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ।
यो निर्णय नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझालाई मन्त्रिपरिषद् बैठकले निलम्बन गरी छानबिन गर्ने निर्णय गरेलगत्तै आएको हो।
सरकारले बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझालाई फर्जी कागजात पेश गरी नियुक्ति लिएको, कार्यक्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको जस्ता गम्भीर आरोपमा निलम्बन गरेको थियो।
सोमबारको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेसँगै बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ बमोजिम ओझा स्वतः पदमुक्त (निलम्बित) भएका थिए।
ओझालाई गत फागुन १२ गते बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरिएको थियो। तर, नियुक्ति भएसँगै उनीमाथि ३३ वर्षका ओझासँग प्राधिकरणको अध्यक्षका लागि आवश्यक योग्यता नपुगेको र उनले कामै नगरेको पदमा काम गरेको भनि फर्जी अनुभवको प्रमाणपत्र पेश गरेको आरोप लागेको थियो।
यो विषयमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ।
नयाँ नियुक्तिसँगै, सहसचिव सेवन्तक पोखरेलले बीमा क्षेत्रको नियमनकारी निकायको नेतृत्व सम्हाल्ने भएका छन्। योसँगै निलम्बित अध्यक्ष शरद ओझामाथिको छानबिन प्रक्रिया अगाडि बढ्नेछ र यस प्रकरणको अन्तिम टुङ्गो लाग्नेछ।

















