६ साउन, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ।
इन्स्योरेन्सले आफ्नो हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ दशमलव ४७८३ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्नेछ। यसअनुसार, इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबर हुनेछ।
आवेदन प्रक्रिया र समयसीमा
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि इन्स्योरेन्सले जेठ ३० गते बुकक्लोज गरेको थियो। तसर्थ, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यस हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदकहरूले साउन २६ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
रेटिङ र चुक्ता पूँजीमा प्रभाव
इन्स्योरेन्सको हकप्रद निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरूले बिक्री प्रबन्धकको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरूका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी-आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

















